बुधबार, १४ असोज २०८३
भक्तपुर। भक्तपुरस्थित सूर्यविनायक नगरपालिका औद्योगिक विकासको नयाँ गन्तव्यका रूपमा उदाउँदै गएको छ। काठमाडौं उपत्यकासँगको सहज पहुँच, विकसित सडक सञ्जाल, मानव संसाधनको उपलब्धता तथा पर्यटन सम्भावनाका कारण नगरपालिकाले औद्योगिक तथा आर्थिक गतिविधिको केन्द्र बन्ने बलियो आधार तयार गरिरहेको छ। नगरपालिकाले स्थानीय उत्पादन, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ‘औद्योगिक ग्राम’ निर्माणको महत्वाकांक्षी योजना अघि बढाएको छ। गुँडु क्षेत्रमा प्रस्तावित औद्योगिक ग्रामका लागि विस्तृत अध्ययन प्रतिवेदन (DPR) तयार भइसकेको छ भने वातावरणीय अध्ययनसमेत अगाडि बढाइएको छ। यो योजना कार्यान्वयनमा आए सूर्यविनायक क्षेत्रमा साना तथा मझौला उद्योगहरूको नयाँ केन्द्र विकास हुने अपेक्षा गरिएको छ।
काठमाडौं र भक्तपुरका मुख्य व्यापारिक केन्द्रसँग नजिक रहेकाले यहाँ उत्पादित सामग्रीको ढुवानी र बजार पहुँच सहज हुने देखिन्छ। नगरपालिकाले उपलब्ध प्राकृतिक, भौतिक तथा मानवीय स्रोतको अधिकतम उपयोग गर्दै लगानीमैत्री वातावरण निर्माणमा जोड दिएको छ। सूर्यविनायक क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिन्छ। सूर्यविनायक गणेश मन्दिर तथा वरपरका रमणीय डाँडाकाँडा र जंगल क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनका आकर्षण बन्दै गएका छन्। यसले पर्यटन उद्योग, होटल व्यवसाय तथा स्थानीय सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि विस्तार गर्ने सम्भावना बढाएको छ।
नगरपालिकाले औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई व्यवस्थित बनाउन “उद्योग, व्यवसाय दर्ता तथा सञ्चालन ऐन, २०७८” लागू गरेको छ। उक्त ऐनमार्फत् लघु उद्यम, घरेलु उद्योग, साना उद्योग तथा मझौला उद्योगलाई स्थिर पूँजीका आधारमा वर्गीकरण गरी तदनुसार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ।
स्थानीय सरकारको प्राथमिकतामा रोजगार अभिवृद्धि पनि परेको छ। कृषि–आधारित साना उद्योगलाई अनुदान, उद्यमी क्षमता विकास तालिम, बजार प्रवर्द्धन कार्यक्रम तथा औद्योगिक प्रदर्शनी आयोजना जस्ता पहलमार्फत् स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास भइरहेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित उद्यमीलाई राहत तथा अनुदान दिने नीति पनि नगरपालिकाले अघि सारेको छ।
त्यसैगरी, व्यवसाय नियमन तथा उपभोक्ता हित संरक्षणका लागि छुट्टै “उद्यम व्यवसाय प्रवर्द्धन तथा उपभोक्ता हित संरक्षण शाखा” स्थापना गरिएको छ। BUILD लगायतका कार्यक्रमसँग सहकार्य गर्दै कर्मचारी तथा उद्यमीलाई व्यवस्थापकीय र सीपमूलक तालिम प्रदान गरिँदै आएको छ। नगरपालिकाले खेलकुद तथा पर्यटन विकासलाई जोड्दै रंगशाला निर्माणको योजना पनि अगाडि बढाएको छ। यसले सामाजिक तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। स्थानीय सरकारको नीतिगत सुधार, पूर्वाधार विकास, लगानीमैत्री वातावरण र औद्योगिक ग्रामको अवधारणाले सूर्यविनायकलाई भविष्यको औद्योगिक हब बनाउने सम्भावना बलियो देखिएको छ। उद्योग, पर्यटन र स्थानीय उद्यमको समन्वित विकासमार्फत सूर्यविनायक नगरपालिका अब आर्थिक समृद्धितर्फ अघि बढिरहेको छ।