बिहिबार, १४ साउन २०८३

images

बिहिबार, १४ साउन २०८३

बिहिबार, १४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेठ ८ देखि १० सम्म हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं । नेपाल हस्तकला महासङ्घ ले यही जेठ ८ देखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ। महासङ्घले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन, स्थानीय उत्पादनको प्रचारप्रसार तथा उद्यमीलाई बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यले तीनदिने प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो।

महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य ले परम्परागत सीप संरक्षणसँगै स्थानीयस्तरमा उत्पादित हस्तकला सामग्रीको प्रदर्शन र बिक्रीलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार हस्तकला क्षेत्रले नेपालमा लाखौँलाई रोजगारी दिएको छ भने वार्षिक करिब २८ अर्ब रुपैयाँ बराबरको सामग्री निर्यात हुँदै आएको छ। प्रदर्शनीमा हस्तकला सामग्रीको बिक्री–वितरणसँगै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। स्थानीय उद्यमी, कलाकार तथा कालिगढले प्रत्यक्ष रूपमा आफ्नो सीप प्रदर्शन गर्नेछन्। ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अवधारणाअनुसार सञ्चालन हुने मेलामा करिब ७० वटा कक्ष रहने जनाइएको छ।

महासङ्घका महाप्रबन्धक उत्तमप्रसाद देवकोटा का अनुसार मेलामा हस्तकलासँगै अन्य निर्यातजन्य नेपाली वस्तु तथा सेवाको पनि प्रदर्शनी गरिनेछ। कार्यक्रममा काठमाडौं उपत्यकाका तीनै जिल्लासहित सङ्खुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायत जिल्लाका स्थानीय सङ्घहरूको सहभागिता रहनेछ। प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने तथा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासङ्घले जनाएको छ।