शनिवार, १६ साउन २०८३

images

शनिवार, १६ साउन २०८३

शनिवार, १६ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कांग्रेसमा चर्कियो क्रियाशील सदस्यता विवाद : सदस्यता अद्यावधिक नगर्न देउवा समूहको आह्वान

कांग्रेसमा पटक–पटक देखिँदै आएको क्रियाशील सदस्यता विवाद पुनः चर्किएको छ । संस्थापन पक्षले सदस्यता अद्यावधिक अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अद्यावधिक नगर्न आह्वान गरेको छ । तर, संस्थापन पक्षले सदस्यता अद्यावधिक नगरे महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट पारेको छ । र, सदस्यता अद्यावधिक गर्ने समय आगामी २१ जेठसम्म थपेको छ । वैशाख मसान्तसम्म सदस्यता अद्यावधिक गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन । यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको १५औँ महाधिवेशन हुन सकेको थिएन । नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्षविनै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । 

विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्यसमितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी १६–१९ असोजमा १५औँ महाधिवेशनको मिति तोकिएको छ । र, महाधिवेशनको पहिलो चरणअन्तर्गत सदस्यता अद्यावधिकको काम अघि बढाएको हो । सभापति थापाले काठमाडौं महानगरपालिका– ३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै गत १ वैशाखमा अभियान सुरु गरिएको थियो । क्रियाशील सदस्यता अद्यावधिक र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको नाम दिएको छ । संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेस सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए । अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक भइरहेको उनले बताए ।

 ‘१४५ वटा क्षेत्रमा सदस्यता अद्यावधिकको काम सुरु भइसकेको छ । भोलि (आइतबार)बाट १६५ वटै क्षेत्रबाट अद्यावधिक हुन्छ,’ उनले भने, ‘अद्यावधिकमा प्राविधिक कठिनाइ थियो । पुरानो परम्पराबाट प्रविधिमा जाँदा केही समय लाग्यो । अहिले हामीले संसारको जुन कुनाबाट पनि सदस्यता हेर्न सकिने बनाएका छौँ ।’ अहिलेसम्म कति अद्यावधिक भयो भन्ने रेकर्ड समितिसम्म आइपुगेको छैन । ‘काम धमाधम भइरहेको छ । अहिले ठ्याक्कै डाटा आइपुगेको छैन । हामीले अहिले क्वान्टिटीभन्दा क्वालिटीमा जोड दिएका छौँ,’ स्नेहीले भने, ‘सबै सदस्यको टेलिफोन नम्बर, फोटो, सदस्यले चलाउने सबै सामाजिक सञ्जाललगायत सम्पूर्ण विवरण अद्यावधिक हुन्छ । सदस्यको सम्पूर्ण विवरण प्रविधिबाट हेर्न सकिन्छ ।’

वडामा जान नसक्नेको हकमा अनलाइनमार्फत अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ । तर, त्यसको अनुमोदन केन्द्रीय कार्यसम्पादन समितिले गर्नुपर्नेछ । ‘सदस्यताका लागि वडामा जानुपर्छ । तर, वडामा जान नसक्ने अवस्थामा जहाँबाट पनि अद्यावधिक गर्न सकिन्छ । कोही बिरामी छ, कोही विदेशमा छ भने वडामा नगएर पनि अद्यावधिक गर्न सकियो । तर, उनीहरूको नवीकरण गर्ने/नगर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई हुन्छ,’ स्नेहीले भने । सदस्यता अद्यावधिक नगरे महाधिवेशनमा सहभागी हुन नपाउने उनले स्पष्ट पारे । ‘यदि कोही सदस्यले सदस्यता अद्यावधिक गरेनन् भने उनीहरू महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउँदैन । पुरानो सदस्यता रेकर्डमा चाहिँ देखिन्छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।