मङ्गलबार, १३ असोज २०८३

images

मङ्गलबार, १३ असोज २०८३

मङ्गलबार, १३ असोज २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कालिकोटबाट निर्वाचन लड्ने प्रचण्डकाे तयारी, काङ्ग्रेस युवा नेता शाहीको टक्कर

कालिकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालिकोटबाट आगामी निर्वाचन लड्ने तयारी गरेसँगै राष्ट्रिय राजनीतिक वृत्तमा व्यापक चर्चा चुलिएको छ। निर्वाचनका लागि पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डका लागि यसपटक भने कालिकोटबाट एकल सिफारिस भए लगत्तै प्रचण्डलाई कालिकोटबाटै चुनावी मैदानमा उतार्ने विषयमा पार्टीभित्र गृहकार्य भइरहेको छ ।

कालिकोट जस्तो भौगोलिक रूपमा विकट र राजनीतिक रूपमा संवेदनशील जिल्लाबाट निर्वाचन लड्ने निर्णयले प्रचण्डको राजनीतिक भविष्य मात्र नभइ दलगत शक्ति सन्तुलनसमेत प्रभावित गर्ने देखिएको छ। यसैबीच नेपाली कांग्रेसबाट सिफारिस भएका काङ्ग्रेसका युवा तथा जिल्लाका प्रभावशाली नेता भुपेन्द्रजंग शाहीसँग प्रचण्डको कडा टक्कर हुने सम्भावनासँगै कालिकोटमा दुई ठूला दलका प्रभावशाली नेताबीच कडा चुनावी प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

शाही कालिकोटबाट संविधानसभा सदस्य निर्वाचन-२०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७४ मा प्रत्यासी थिए। कारणबस दुवै निर्वाचनमा जित हात पार्न नसके पनि उनले भने उल्लेखनीय र लोकप्रिय मत प्राप्त गरेका थिए। नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल तरुण दलका केन्द्रीय महामन्त्रीको पृष्ठभूमिबाट राजनीतिमा उदाएका शाही कांग्रेसभित्र युवाको तर्फबाट स्पष्ट, र अन्यायविरुद्ध खुलेर बोल्ने नेताका रूपमा चिनिन्छन् । युवा नेता शाहीले हालै सामाजिक सञ्जालमा ‘जनता भगवान हुन्, बाँकी फैसला कालिकोटका जनताको हातमा छ’, भन्ने स्टाटस सार्वजनिक गरेपछि स्थानीय राजनीतिमा थप तरंग छाएको छ।

नेता शाहीले कालिकोटका गाउँ–गाउँ र बस्ती–बस्तीमा पुगेर भेटघाट गर्दै ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ अभियान सञ्चालन गरिरहेका छन्। राजनीतिक रूपमा संवेदनशील मानिने कालिकोट जिल्लामा प्रचण्डको सम्भावित उम्मेदवारी र कांग्रेसबाट युवा नेता शाहीको दाबीले चुनावी माहोल तातेको छ। दुवै पक्षले संगठन विस्तार र जनसम्पर्कलाई तीव्रता दिएका छन्।स्थानीय मतदाताले यस चुनावलाई प्रतिष्ठाको लडाइँका रूपमा हेरेका छन् भने कालिकोटको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने देखिन्छ ।