बिहिबार, १४ साउन २०८३

images

बिहिबार, १४ साउन २०८३

बिहिबार, १४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गर्नुभएको छ । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । अठहत्तर वर्षीय हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उहाँको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहनुभएको छ । त्यसयता उहाँ सार्वजनिक रूपमा निकै कम देखिनुभएको छ । 

गत जनवरीमा भने उहाँले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गर्नुभएको थियो । भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफ्नोविरुद्धको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित’ भएको दाबी गर्नुभयो । उहाँले आफू मृत्युदण्डको सजायबाट नडराउने पनि बताउनुभयो ।“मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए । तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ”, उहाँले भन्नुभयो ।

स्वदेश फर्किनेबारे सोधिएको प्रश्नमा हसिनाले भन्नुभयो, “सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसैवर्ष आफ्नो देश फर्कनेछु ।”गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको गतिविधिलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ । 

उता, गत फेब्रुअरीमा बङ्गलादेशमा भएको निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि हसिनाको सुपुर्दगीको विषयमा दुवै देशबीच मतभेद कायमै छ । बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग दोहोर्‍याउँदै आएको छ ।