बिहिबार, १४ साउन २०८३
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औँ साधारणसभाबाट नयाँ नेतृत्व चयन भइसकेपछि अब वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ। अध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे र निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल फरक–फरक उम्मेदवारसहित मैदानमा उत्रिएपछि महासंघभित्र प्रतिस्पर्धा तीव्र बनेको छ।
संशोधित विधानअनुसार यसपटक पहिलो पटक पूर्व पदाधिकारीहरू पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था लागू भएको छ। सोही आधारमा रामचन्द्र संघई, किशोरलाल प्रधान, हेमराज ढकाल, सुरकृष्ण वैद्य र भरत आचार्य वरिष्ठ उपाध्यक्षको दौडमा देखिएका छन्। नयाँ व्यवस्थाअनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाइएको छ भने आगामी निर्वाचनमा अध्यक्षसहित प्रत्यक्ष प्रतिस्पर्धा हुने व्यवस्था गरिएको छ।
अध्यक्ष श्रेष्ठले सुरकृष्ण वैद्यलाई समर्थन गर्ने संकेत दिएका छन् भने एसोसिएट उपाध्यक्ष पाण्डे रामचन्द्र संघईको पक्षमा देखिएका छन्। उता निवर्तमान अध्यक्ष ढकाल निकट भरत आचार्य र हेमराज ढकालबीच प्रतिस्पर्धा बढेपछि ढकाल समूहभित्रै आन्तरिक तनाव देखिएको छ। कोषाध्यक्ष पदमा पनि विभाजन स्पष्ट देखिएको छ। अध्यक्ष श्रेष्ठ मनिषलाल प्रधानको पक्षमा रहेको बताइँदा पाण्डेको समर्थन अम्बिकाप्रसाद पौडेलतर्फ रहेको चर्चा छ।
यद्यपि उम्मेदवारलाई कसले आधिकारिक समर्थन गर्ने भन्ने विषयमा औपचारिक घोषणा भने भएको छैन। पदाधिकारी चयन सर्वसम्मत गर्ने प्रयास भए पनि आकांक्षी धेरै भएकाले सहमति जुट्न सकेको छैन। संशोधित विधानअनुसार निर्वाचित कार्यसमिति सदस्यसँगै सातै प्रदेशका अध्यक्षले पनि मतदान गर्न पाउने भएकाले यसपटक प्रदेश अध्यक्षहरूको मत निर्णायक बन्न सक्ने देखिएको छ।