बिहिबार, १४ साउन २०८३
रूपन्देही। रूपन्देही क्षेत्र नम्बर २ को चुनावी मैदान यतिबेला विकास र संरक्षणको बहसले तातेको छ। यही बहसको केन्द्रमा छन् चुन्न प्रसाद पौडेल। नेपाली कांग्रेसका उम्मेदवार पौडेलले “अब विकास रोकिन्न” भन्ने नारासहित आर्थिक समृद्धि र सांस्कृतिक संरक्षणलाई सँगसँगै अघि बढाउने ‘डबल एजेन्डा’ सार्वजनिक गरेका छन्। रूपन्देही- २ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा चुन्न प्रसाद पौडेलले आफ्नो बलियो उपस्थितिको संकेत दिएका छन्।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पौडेललाई स्थानीय तहदेखि व्यवसायिक समुदाय र युवापुस्ताको सक्रिय समर्थन रहेको छ। व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका पौडेलले रुपन्देहीमा रोजगारी सिर्जना, स्थानीय लगानी प्रवर्द्धन तथा विभिन्न सामाजिक अभियानमा निरन्तर सक्रियता देखाउँदै आएका छन्। उद्योग–व्यापार क्षेत्रमा उनको संलग्नताले आर्थिक एजेन्डामा विश्वसनीयता थपेको मतदाताहरू बताउँछन्। उद्योग–व्यापार क्षेत्रमा सक्रिय रहँदै उनले स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्छ।
सामाजिक तथा धार्मिक क्षेत्रका प्रतिबद्धता
पौडेलले सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राख्दै स्पष्ट योजना सार्वजनिक गरेका छन्। ऐतिहासिक सम्पदाको संरक्षणअन्तर्गत जितगढी किल्लाको संरक्षण तथा संवर्द्धन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। त्यसैगरी, पुरानो बटौलीका साँगुरा गल्ली र ऐतिहासिक संरचनालाई समेटेर ‘बटौली हेरिटेज जोन’ घोषणा गर्ने योजना अघि सारेका छन्। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। रूपन्देही–२ भित्र रहेका सबै धार्मिक सम्प्रदायका अनुष्ठानहरूको संरक्षण र प्रवर्द्धन गर्ने, राज्यको मूलधारमा नपुगेका वर्ग तथा समुदायका लागि बनेका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा धार्मिक सहिष्णुता, आपसी सद्भाव र स्नेहपूर्ण वातावरण निर्माण गर्ने उनको अर्को मुख्य एजेन्डा रहेको छ।
हराभरा रूपन्देहीको लक्ष्य
पर्यावरणीय सुधारलाई दीर्घकालीन विकासको आधार मान्दै पौडेलले तिनाउ नदी र दानव नदीमा स्वच्छ र हराभरा करिडोर निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। ज्योतिनगर पहिरो नियन्त्रण, चुरे तथा सामुदायिक वन संरक्षणमा स्थानीय सहभागिता सुनिश्चित गर्ने र नदी किनार व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ‘फोहोरबाट मोहर’ कार्यक्रम सञ्चालन गर्दै आधुनिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने, नदीमा जाने फोहोर नियन्त्रणका लागि प्रविधि प्रयोग गर्ने तथा खुला क्षेत्रको संरक्षण र सौन्दर्यीकरण गर्ने योजना पनि अगाडि सारिएको छ।
विकास र पहिचानको समन्वित एजेन्डा
आर्थिक, सामाजिक, धार्मिक र पर्यावरणीय पक्षलाई एकसाथ समेट्दै पौडेलले “समन्नत रूपन्देही” निर्माणको लक्ष्य अघि सारेका छन्। चुनावी मैदानमा उनको सक्रियता र प्रस्तुत एजेन्डाले रूपन्देही–२ मा प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
पर्यावरणीय सुधारको दीर्घकालीन योजना
पौडेलले वातावरण संरक्षणलाई समुन्नत रूपन्देही निर्माणको आधार मानेका छन्। बुटवल क्षेत्रको ज्योतिनगर पहिरो नियन्त्रणका लागि दीर्घकालीन पहल गर्ने, तिनाउ नदी र दानव नदीमा स्वच्छ, हराभरा जलप्रवाहसहित करिडोर निर्माण गर्ने योजना उनले अघि सारेका छन्। यसका साथै चुरे क्षेत्र र सामुदायिक वन संरक्षणमा स्थानीय जनताको सहभागिता सुनिश्चित गर्ने, नदी किनार व्यवस्थापन र करिडोर विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
स्थानीय मुद्दा, पहिचान र दिगो विकासलाई केन्द्रमा राखेर अघि बढेको यो अभियानले मतदातामा कत्तिको विश्वास जित्छ भन्ने कुरा भने चुनावी परिणामले नै निर्धारण गर्नेछ। आर्थिक गतिशीलता, सांस्कृतिक पहिचान र पर्यावरणीय सन्तुलनलाई सँगसँगै अघि बढाउने दाबीका साथ अघि बढेका पौडेलको अभियानले रूपन्देही–२ मा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अब मतदाताले विकास र संरक्षणको यो ‘डबल एजेन्डा’लाई कत्तिको विश्वास गर्छन्, त्यसको परीक्षा निर्वाचन परिणामले गर्नेछ।

