शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

विद्यालाई बल्खुबाट ‘वैधता’

जेन–जी आन्दोलन र गत फागुनको निर्वाचनअघि सक्रिय राजनीतिमा फर्किने हरेक प्रयासलाई अवरुद्ध गर्दै आएका केपी ओलीले अब भने पूर्वराष्ट्रपति विद्या भण्डारीका लागि ढोका खुला गरेको सन्देश दिएका छन् । एमालेले पहिलोपटक पूर्वउपाध्यक्षको हैसियतमा भण्डारीलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर उनको सक्रिय राजनीतिमा पुनरागमनको संकेत गरेको छ । एमालेमा नेतृत्व परिवर्तनको बहस र वामपन्थी शक्तिबिच नयाँ एकताको प्रयास जारी रहँदा भण्डारीलाई ‘प्रोजेक्ट’ गर्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । 

पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेर सक्रिय राजनीतिमा ‘फुलस्टप’ लगाएको एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी कार्यक्रमको प्रमुख अतिथि बनाएर पुनरागमनको ‘रेड कार्पेट’ बिछ्याएको हो । एमालेले ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुपरिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाएसँगै भण्डारीको सम्भावित यात्राको जनाउ दिएको छ । जबकि अघिल्लो ६ साउनमा केन्द्रीय कमिटी बैठकबाटै पार्टी राजनीतिमा सक्रिय हुने भण्डारीको योजनामाथि एमालेले निर्णय नै लिएर ‘ब्रेक’ लगाएको थियो ।  

कार्यक्रम सञ्चालक महासचिव शंकर पोखरेलले भण्डारीलाई ‘कमरेड’ शब्दसमेत सम्बोधन गर्दै पूर्वउपाध्यक्ष र पूर्वराष्ट्रपतिका रूपमा मञ्चमा आसनग्रहण गराएका थिए । त्यति मात्र होइन, उनले वक्ताको आमन्त्रण गर्दासमेत पूर्वउपाध्यक्ष सम्बोधन गरेर एमालेमा भण्डारीको आगमनलाई राजनीतिक रूपले अनुमोदन गरेका छन् । महासचिव पोखरेलले आगामी दिनमा पार्टीको औपचारिक फोरमबाट पनि निर्णय गर्ने सन्देश दिएका छन् । 

अध्यक्ष ओलीकै सहमतिमा महासचिव पोखरेलले भण्डारीलाई पूर्वउपाध्यक्षको हैसियतमा पार्टी कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका हुन् । यसको संकेत बुझिने गरी निमन्त्रणा–पत्र लिएर केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी शुक्रबार बालुवाटारस्थित भण्डारीनिवास पुगेका थिए । ओली कार्यक्रममा सहभागी नहुने निश्चित भएपछि शनिबार भण्डारीलाई नै प्रमुख अतिथि बनाइने जानकारी गराइएको थियो ।

यसअघि पनि स्मृति दिवसको तयारीबारे औपचारिक सुझाव र निर्देशन लिन सचिव तथा मोर्चा फाँट प्रमुखसहित जनवर्गीय संगठनका नेताहरूको टोली एक महिनाअघि मदन भण्डारी फाउन्डेसनको बानेश्वरस्थित कार्यालय पुगेर भण्डारीसँग छलफल गरेको थियो । भण्डारीकै सुझावअनुसार एमालेले देशव्यापी रूपमा स्मृति दिवससम्बन्धी कार्यक्रम अघि बढाएको थियो । यही कारण मदन भण्डारी हीरक जयन्तीले आयोजना गर्ने तयारीमा रहेका केही कार्यक्रमसमेत तत्कालका लागि स्थगित गरिएको फाउन्डेसनका एक पदाधिकारीले बताए । 

अध्यक्ष ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको र उनले सक्रिय राजनीतिमा फर्किन चाहेमा सदस्यता नवीकरण रोक्नेसम्बन्धी अघिल्लो निर्णयमाथि समेत पुनर्विचार हुन सक्ने संस्थापन पक्षका नेताहरू बताउँछन् । यसै सन्दर्भमा अघिल्लो आइतबार ओली र भण्डारीबिच भक्तपुरको गुन्डुस्थित ओलीनिवासमा दुई घण्टाभन्दा लामो  छलफलसमेत भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।